कम्प्युटर सफ्टवेयरबाट क्यान्सरको उपचार

असाध्य अर्थात् खास उपचार सम्भव नभएको क्यान्सर रोगको उपचारका विभिन्न विधिहरुको खोज अनुसन्धानमा विश्वका वैज्ञानिकहरु जुटिरहेका छन् । यस्तैमा वैज्ञानिकहरुले एउटा यस्तो सफ्टवेयर बनाउँदैछन् जसबाट क्यान्सरको उपचार सहज हुनेछ । उक्त सफ्टवेयरले कुन औषधि कस्तो प्रकारको क्यान्सरको उपचारमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा बताइदिनेछ ।

अमेरिकाको डोब्स इन्स्टिच्युट फर डेन्टल रिसर्चका निर्देशक किम एलन ब्रोगडेनका अनुसार वैज्ञानिकहरु यस्तो सफ्टवेयर तयार गर्ने काममा खटिएका छन् जसको माध्यमबाट एक भर्चुअल ट्युमर बनाइनेछ र त्यसैको माध्यमबाट कुनै व्यक्तिको क्यान्सरको उपचारमा कुन प्रकारको उपचार बढि प्रभावकारी हुन्छ भन्ने कुरा पत्ता लाग्नेछ ।

उक्त बनाबटी ट्युमरमा विरामीको क्यान्सर कोषिका तथा त्यसका विशिष्ट जिनहरु हालिनेछ । एलनका अनुसार यो अनुसन्धान दुइ तहमा हुँदैछ । जसमा पहिले सफ्टवेयरको मद्दतले भर्चुअल ट्युमर बनाइनेछ र उसैमा त्यसको उपचार गरिनेछ । तत् पश्चात कुन प्रकारको औषधिमा कुन प्रकारको क्यान्सरको कस्तो प्रतिक्रिया जनाउँदछ भन्ने कुराको अध्ययन गरिनेछ ।

उनका अनुसार अनुसन्धानको दोश्रो चरणमा विरामीको क्यान्सरको कोशिकाबाट जिन लिएर प्रयोगशालामा ट्युमर तयार पारिनेछ र उक्त ट्युमरमा पनि सोही उपचार पद्धति दोहोराइनेछ । कम्प्युटर सफ्टवेयरमा तयार पारिएको ट्युमर तथा विरामीको कोशिकाबाट तयार पारिएको ट्युमरमा औषधिले देखाउने प्रतिक्रिया समानको समानता असमानताको आधारमा विरामीको उपचारमा कुन औषधि प्रयोग गर्ने भन्ने कुराको निक्र्यौल गर्न सकिने वैज्ञानिकको भनाइ छ ।

अहिलेसम्मका अध्ययनमा ८५ देखि ८६ प्रतिशत सम्म एकरुपता पाइएको छ । यो प्रविधिबाट क्यान्सर रोगीको उपचार सरल तथा छिटो अनि प्रभावकारी हुने बताइएको छ ।