स्क्रप दाइपिस रोगबाट ५३ बिरामी

२६ साउन। स्क्रप दाइपिसनामक रोगका कारण एक महिनामा चितवनमा ५३ जना बिरामी परेका छन्।
जंगली मुसालगायतका जीवजन्तुमा हुने जुम्रा, उपियाँ, उडुसले टोकेपछि यो रोगको संक्रमण हुने गर्दछ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा चितवन र अन्य छिमेकी जिल्लाबाट आएका बिरामीमा स्कप डाइग्नोसिसबाट परीक्षण गर्दा यो रोग भेटिएको हो।
बिरामीमध्ये सबैभन्दा बढी चितवनका ३३, नवलपरासीका नौ, पर्साका दुई, बारा, बाग्लुङ, कपिलवस्तु र तनहुँका एक÷एक जना र ठेगाना नखुलेका पाँच बिरामी छन्।
कतिपय बिरामी निको भएर घर फर्केका छन् भने कतिपय उपचाररत् छन्। बिरामी आउने क्रम जारी रहेको अस्पतालले जनाएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइरालाका अनुसार जुम्रा, उपियाँ उडुसको टोकाइले टस्टट्यूगुमोसी नामक ब्यक्टेरिया मानिसमा प्रवेश गरेपछि यो रोग लाग्छ।
यस्ता जीवले टोकेको पाँचदेखि सात दिनमा ज्वरो आउने, शरीर दुख्ने, वान्ता हुने, शरीरमा फोका आउनेजस्ता लक्षण देखिने चिकित्सकले बताएका छन्। भूकम्पपछि चर्किएका घर र जंगल आसपासमा रहेका वस्तीमा बढी मात्रामा यो रोग देखिएको कोइरालाले बताए।
विभिन्न समयमा फाट्टफुट्ट देखिने यो रोग अहिले बढी मात्रामा देखिएको चितवन मेडिकल कलेजका फिजिसियन डा दयराम लम्सालले बताए।
गर्मी र मनसुन सक्रिय भएको समयमा बढी मात्रामा यो रोग देखिने उनको भनाइ थियो। व्यक्तिगत सरसफाइ कमी भएका व्यक्तिलाई यो रोग लाग्ने सम्भावना बढी हुने लम्सालले बताए। रोग लागेमा चिकित्सकको सल्लाहअनुसार नियमित १० देखि १५ दिनसम्म औषधी सेवन गरेमा रोग निको हुने लम्सालले बताए।
समयमा उपचार नभएमा भने यो रोगले जटिल रुप लिन सक्ने डा लम्सालले बताए। रोग जटिल भएमा रक्तनली, कलेजोजस्ता अंगमा असर पर्न गई बिरामीको मृत्युसमेत हुन सक्ने उनले जानकारी दिए। लगातार तीन दिनभन्दा बढी ज्वरो आएमा स्वास्थ्य परीक्षण गराउन उनले सुझाव दिए।