विकासशील देशमा स्वास्थ्य प्रयोगशालाको महत्व

                                                                                              –सुशील थापा
व्यक्ति, परिवार, समाज मिलेर नै देश बन्दछ। देशको समुन्नति र विकासमा प्रत्येक नागरिकको महत्वपूर्ण भूमिका र दायित्व हुन्छ। त्यसैले विकसित देशमा हरेक व्यक्तिले आफ्नो महत्व र कर्तव्य बुझेको देखिन्छ। हरेक व्यक्तिको स्वास्थ्य अवस्थाले देश निर्माणमा उल्लेखनीय योगदान पु¥याउँछ भन्ने कुराको विषयमा अब वहस गर्नु पर्ने अवस्था नै छैन। यो पुष्टि भइसकेको छ।
यस्ता कति उदाहरण छन् जहाँ आम जनस्वास्थ्यका कारणले देश असाध्य पिछडिएको छन्, चाहे त्यो एड्स रोग वा मातृशिशु स्वास्थ्यका कारणले होस् वा विकिरण चुहावट, सन्तुलित आहारको कमी वा अन्य अरू।
हुन त विकसित देशमा हरेक पार्क तथा सार्वजनिक स्थलमा व्यायामका साधनहरू सरकारले नै निःशुल्क प्रयोगका लागि राखिदिएको पाइन्छ। तर हाम्रो मुलुकमा त्यसतर्फ ध्यान जान दशकौं कुर्नु पर्नेमा कुनै शंका छैन।
दशकौंदेखिको आन्तरिक कलह तथा त्यसबाट सिर्जित विकराल परिस्थितिले नेपालीको जीवन कष्टकर बन्दै गइरहेको अवस्थामा तथा आम नेपालीको खान पाउने अधिकार कुण्ठित भइरहेको छ। यदाकता त बाच्न पाउने अधिकारसमेत कुण्ठित भएको छ। यस्तो अवस्थामा सन्तुलित आहारबिहार आम नेपालीका लागि एउटा मीठो दिवास्वप्नजस्तै भएको छ। अहिले पनि जारी राजनीतिक असझदारीले लाग्न यसलाई यथार्थरुपमा देख्न कमसेकम दुई वा तीन दशक लाग्छ।
नसर्ने रोगहरू सन्तुलित भोजन नपाउनुका अलावा अम्मल सेवन तथा आफ्ना अंगहरूको स्वास्थ्य अवस्थाबारे जानकारीका कमीले हुने गर्दछन्। हाम्रो देशमा यक्तिगत सरसफाइ, स्वस्थ खाना  तथा स्वस्थ्य पिउने पानीको अभावमा विभिन्न सङ्क्रमणको पिरलो उत्ति नै छ। स्वास्थ्य सेवा प्रभावकारी बनाउन रोग पत्ता लगाउने स्वास्थ्य सेवा (प्रयोगशाला) को विकास द्रुत गतिले हुनु अस्वभाविक होइन। तर परिमाणभन्दा गुणस्तरीय सेवा सञ्चालनतर्फ राज्य तथा यसका अंग मुख्यरुपमा जिम्मेवार हुनु पर्दछ। हामी आफै पनि इमान्दारिताका साथ यसमा लागि पर्नु अहिलेको आवश्यकता हो।
नजान्नु, थाहा नपाउनुभन्दा जान्नु र थाहा पाउनुको बीचमा आकाश–जमिनको फरक हुन्छ।
आफ्नो स्वास्थ्य अवस्थाबारे थाहा पाए हामी धेरै कुरामा सावधानी अपनाउन सक्छौं भने नजान्दा धेरै नै जोखिम अवस्थामा हुन्छौं। स्वस्थ्य जीवनका लागि हामी हाम्रो स्वस्थ्यका बारेमा चनाखो हुनु पहिलो अनिवार्य शर्त हो। त्यसैगरी, परिणाममुखी ल्याब सञ्चालन गर्न आवश्यक पर्ने ज्ञान, प्रविधि तथा प्राविधिकको जोहो गर्नु ल्याब सञ्चालकहरूका लागि अनिवार्य शर्त हो।
स्वास्थ्य परीक्षण प्रयोगशाला एउटा नितान्त बेग्लै विज्ञान हो। विज्ञानमा प्रमाणित कुरालाई राजनीतिमा जस्तो ‘जसको लाठो उसैको भैसी’ भन्ने मानसिकतामा चलाउनु नै आजको विषम परिस्थितिको मुख्य कारण हो। यस विधामा गुणस्तरीय परिणाम ल्याउने विशेष तरिकाहरू प्रमाणित दस्तावेजका रुपमा प्रकाशित छन्। त्यसैगरी आवश्यक कम्पोनेन्टसमेत प्रष्टरुपमा विशिष्ट प्रयोगशालाहरूमा प्रयोगमा आइरहेका छन्। देशका नागरिक, स्वाथ्य संस्था, प्रयोगशाला र नागरिकको चेतना स्तर आवगत हुँदा–हुँदै आपसी मिलेमतोमा असहाय नागरिकले दुःख गरी कमाएको पैसामा तथा स्वास्थ्यमा खेलबाड गर्नु जघन्य अपराध हो। यसबाट माथि उठेर ल्याब सञ्चालकहरू र स्वाथ्य प्रदायक निकायले सेवा दिनु आवश्यक छ।
नेपालमा ल्याबोरेटरीको अवस्था
१) असंख्य प्रयोगशाला खुलेका छन् तर तीमध्ये अधिकांश कसैको निगरानीमा छैनन्।
२) ‘एउटाको नाम अर्कोको काम’ प्रथाले गुणस्तरको धज्जी उडाएको अवस्था छ।
३) सबैभन्दा कम पूँजी लगानी गरी धेरै परीक्षण कसरी गर्न सकिन्छ भन्ने होडबाजीले जनता ठूलो मारमा परेको अवस्था छ।
४) स्वास्थ्य सेवा सेवा भावभन्दा मुनाफा केन्द्रीत, सेवाग्राहीको भन्दा दलाली प्रथाको महत्व, ज्ञानको भन्दा प्रतिलिपि प्रमाणपत्रको महत्वका कारण जर्जर अवस्थाबाट गुज्रिइरहेको छ।
यसबाट कसरी माथि उठ्ने ?
यस अवस्थाबाट माथि उठ्न धेरै स्वावलम्बी यस विधाका विज्ञहरूले प्रयास जारी नराखेका भने छैनन्। हाम्रा प्रत्येक सहरमा एउटामात्रै भए पनि राम्रो ल्याबोरेटरीको स्थापना भएको र हुँदै गरेको देख्न सकिन्छ। राम्रा ल्याबको पहिचान कसरी गर्ने आम जनताले भन्ने एउटा गहकिलो तर असजिलो प्रश्नको उत्तर खोज्नु आवश्यक छ। यसका लागि निम्न कुराबारे सुक्ष्म अध्ययन गर्न जरुरी हुन्छ ः
सतही अवलोकन
१) के ती ल्याब भनेको समयमा खुल्ने र बन्द हुने गर्छन् ?
२) के ती ल्याबले स्वास्थ्यसम्बन्धी जनचेतना बढाउने अभ्यास गरिराखेका छन् ?
३) के ती ल्याबले भनेको समयमा परीक्षणको नतिजा दिने गर्छन् ?
४) ल्याबमा यथेष्ट लगानी गरी आबश्यक प्रविधिहरु भित्र्याइएका छन् ?
५) सरसफाइ, व्यवहारिक ज्ञान, सीप तथा परिष्कृत व्यवहार छ कि छैन ?
प्राविधिक अवलोकन
१) के ल्याबहरूसँग उपकरण क्यालिब्रेसन गर्ने गरिएका विश्वासिला दस्तावेजहरू छन् ?
२) के ल्याबहरूसँग अविरल चिसो बनाउने उपकरणहरू अहोरात्र चल्छन्। विद्युत् अभावमा वैकल्पिक उचित व्यवस्था छ कि छैन ?
३) के काम गर्ने प्राविधिकहरूको क्षमता  प्रमाणित  हुने  प्रमाणपत्र तथा क्षमता  विकासका  लागि प्रशिक्षण हुने गरेका छन् ?
४) के लिइएका परीक्षण गर्नु पर्ने नमुनाहरूको विभिन्न चरणको प्रमाणित पुनरावलोकन
गर्न सकिने प्रावधान छन् ?
५) के ल्याबोरेटरीहरूमा विद्युत्को प्युरिटी ल्याब ग्रेड पानीको उचित व्यवस्था छ ?
६) के ल्याबोरेटरीहरूले प्रमाणित रेफरेन्स सामग्री प्रमाणित हुने किट्स तथा केमिकलहरू प्रयोग गर्छन् ?
७) के उनीहरूको ल्याबमा उपकरणको मर्मतको लग बुक अद्यावधिक छ ?
८) के उनीहरू  बेलाबेलामा आफ्नो नतिजा ठिक भइरहेको छ कि छैन भनी आफ्नोभन्दा ठूलो राम्रो ल्याबमा इक्युए एक्टर्नल क्यालिटी एसिस्मेन्ट गर्छन् ?
प्रयोगशालाको भविष्य
नेपालमा प्रयोगशाला सेवामा निकै ठूलो फड्को मार्न सकिने सम्भावनाहरु विद्यमान छन्। नेपालमा तीन सय प्रकारका मात्र परीक्षण सभ्भव छन् भने भारतमा नौ हजारभन्दा बढी प्रकारका परीक्षण भइरहेका छन्।
नेपालमा असम्भव भनिएका ती सबै परीक्षण विभिन्न औपचारिक तथा अनौपचारिक तरिकाबाट भारतमा गइरहेको अवस्थामा देशले ठूलो घाटा व्यहोर्नुको परेको छ। यसले प्रशिक्षित प्राविधिकहरूको क्षमता वृद्धिमा समेत ठूलो सड्ढट सिर्जना गरेको छ। यसको व्यवहारिक व्यवस्थापन गर्न निम्न कुरामा जोड दिँदै निरन्तर स्तरोन्नतिको प्रयासमा लाग्नु जरुरी देखिन्छ ः
१) चिकित्सक तथा प्रयोगशाला विज्ञबीच टेष्ट मेनु ग्यापका बारेमा निरन्तर छलफलको थालनी गर्नु पर्छ।
२) अहिले भइरहेका परीक्षणको गुणस्तर कायम गर्दै अझ राम्रा प्रविधि भित्र्याउने र क्रमशः परीक्षणका प्रकारमा वृद्धि गर्दै लाने। यसको लागि दिगो विकासको मोडेल विकास गर्नु जरुरी छ।
३) ज्ञानको व्यवस्थापन जरुरी भइसकेको अवस्थामा स्वास्थ्य सेवाका ज्ञान बाड्ने, क्षमता अभिवृद्धिका अवसर बढाउने र अन्ततः प्रत्येक प्रयोगशाला पद्धतिमा आधारित हुनु पर्छ न कि व्यक्तिमा आधारित।
अन्त्यमा यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यवसायी, प्राविधिक  तथा  स्वास्थ्यकर्मीलाई हालसम्म  प्राप्त सफलतालाई कायम  राख्दै  अझ  अघि  बढ्न  प्रोत्साहन हामीले प्रोत्साहन गर्नु जरुरी छ। प्रयोगशाला सशक्त, गुणस्तरीय, सर्वसुलभ र वैज्ञानिक भएका सेवाग्राही र जनस्वाथ्यकर्मीमात्र लाभान्वित हुने होइन, पूरै देशलाई स्वस्थ बनाइ विकासको गतिमा अघि बढ्न सहयोग पुग्छ। यसले हाम्रो पुरानै भनाई ‘स्वास्थ्य नै धन हो’लाई पुनर्पुष्टिसमेत गर्दछ।

(लेखक थापा य¬आरएलका सल्लाहकार तथा सिक्स सिग्मा आइएसओ लिड अडिटर हुन्।
साभार : समाधान राष्ट्रिय दैनिक, पोखरा