रातमा निद्रा लाग्दैन ? त्यसोभए गाइको दुध पिउनुस्

निद्रा नलाग्ने समस्या छ ? निद्रा लगाउने उपाय खोज्दै विभिन्न थरीका ओखती खाने गर्नुभएको छ ? यदि त्यसो हो भने पर्खिनुस् । निद्रा नलाग्ने समस्या भएका हरुका लागि गाइको दुध अचुक औषधि सावित हुनसक्छ ।

शोधकर्ताहरुका अनुसार सुत्ने बेलामा गाइको दुध पिउनाले निद्रा नलाग्ने समस्या कम हुन्छ ।

दक्षिण कोरियाको इम्युंग रिसर्च इन्स्टिच्युट फर न्युरोसाइन्सका शोधकर्ताहरुले गाइको दुधमा ट्रिप्टोफ्यान र मेलाटोनिन नामक तत्वहरु पर्याप्त मात्रामा पाइने भएकाले ती तत्वहरुका कारण मानिसमा निद्रा पर्ने तथ्य पत्ता लगाएका हुन् ।

मेलाटोनिन प्राकृतिक रुपमै पाइने हर्मोन हो जसले निद्रा तथा जागृतीको चक्र नियन्त्रण गर्दछ भने ट्रिप्टोफ्यानलाई सरीरले सेरोटोनिन र मेलाटोनिनमा परिणत गर्दछ ।

अध्ययनको क्रममा मुसालाई गाइको दुध खुवाइएको थियो । मुसालाई दिनमा तथा रातमा दुधका साथै पानी समेत दिएर अनुगमन गरियो ।
त्यसक्रममा दिउसो गाइको दुध खुवाइएका भन्दा रातको समयमा गाइको दुध खुवाइएका मुसाहरु रातको समयमा बढि निस्क्रिय हुने गरेका र धेरै आराम गर्ने गरेको पाइयो ।

मानिसले सुत्ने बेलामा गाइको दुध पिउँदा मिठो निद्रा पर्ने कुरा मनोवैज्ञानिक पक्षसँग पनि जोडिएको हुन्छ । शोधकर्ताहरुका अनुसार यसरी गाइको दुध पिउँदा त्यसले आफ्नै आमाको दुध बच्चामा पिएको याद दिलाउने र मज्जाले निद्रा लाग्ने हुन्छ । यसका साथै दुधमा निद्रा लगाउने विभिन्न खाले तत्व पनि पाइन्छन् ।

मेडिसिनल फुड नामक जर्नलमा यस सम्बन्धी शोध प्रकाशित भएको छ ।