मधुमेहबारे सचेत बनाउँदै विश्व स्वास्थ्य दिवस

पोखरा, २४ चैत। विश्व स्वास्थ्य दिवस कास्कीमा विविध कार्यक्रम गरी बिहीबार मनाइँदै छ।

सन् १९५० देखि विश्व स्वास्थ्य संगठनको आयोजनामा मनाउन सुरु गरिएको दिवसको यस वर्षको नारा ‘मधुमेहको रोकथाम गरौँ, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौँ’ तय गरिएको छ। कास्कीमा जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना र नेपाल मधुमेह समाजको सहआयोजनामा बुधबार परिसंवाद र पोखरावरपर माइकिङ र आज बिहीबार जनचेतनामूलक ¥याली, निःशुल्क मधुमेह परीक्षण र अन्तक्र्रिया आयोजना गरिँदै छ।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा हुने निःशुल्क मधुमेह परीक्षणमा सहभागीको खाली पेट र खानापछि निःशुल्क रक्त परीक्षण गरिनुका साथै मधुमेहबारे सचेतना पनि दिइने युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए।

हरेक वर्ष एक रोग न्यूनीकरणमा केन्द्रीत भइ दिवस मनाइने प्रचलन अनुरुप यो वर्ष मधुमेहसम्बन्धी जनचेतना फैलाउने, रोकथामका उपाय, रोगबाट हुनसक्ने खतरा, जोगिने उपाय, उचित खानपानबारे चेतना फैलाउन जोड दिइनेछ।

नेपालमा मानिसमा मधुमेह हुने प्रमुख कारण मोटोपना भएको एक तथ्याङ्कले देखाएको छ। नेपालमा १६.७ प्रतिशत मोटोपनका कारण मधुमेह हुने गरेको पाइएको हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार यसमा अनुमानित महिला १६.६ प्रतिशत रहेका छन् भने पुरुष १३.६ प्रतिशत छन्। यो तथ्याङ्कले नेपाल मधुमेहको उच्च जोखिममा रहेको देखाएको छ।

नेपालमा सन् २०१६ को मधुमेह प्रोफाइल अनुसार एक सर्वेक्षणले ९.१ प्रतिशतमा मधुमेह रहेको उल्लेख छ। त्यसमा १०.५ प्रतिशत पुरुषमा र ७.९ प्रतिशत महिलामा मधुमेह रहेको देखाइएको छ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार मधुमेहले पछि गएर मानिसका महत्वपूर्ण अङ्गलाई काम नलाग्ने बनाउन सक्छ भने ह्दयरोग, मस्तिष्कघात, अन्धोपना र पक्षघात गराउने या मिर्गौलाले काम गर्न नसक्ने तथा मुटुमा समस्या ल्याउन सक्ने प्रवल सम्भावना हुन्छ।