दमौलीमा युआरएलको स्याम्पल कलेक्सन सेन्टर

पोखरा, २३ भदौ। पोखराको न्युरोड, गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले तनहुँ सदरमुकाम दमौलीमा आफ्नो स्याम्पल कलेक्सन सेन्टर स्थापना गरेको छ।
वरिष्ठ युरोलोजिस्ट डा. ध्रुवबहादुर आधिकारीले बिहीबार आयोजित एक समारोहबीच सेन्टरको शुभारम्भ गरे। दमौली र आसपासको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्याथोलोजी सेवा उपलब्ध गराउन स्याम्पल कलेक्सन सेन्टर सञ्चालन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा अधिकारीले आधुनिक समयका थपिँदै गएका स्वास्थ्य समस्या निराकरण र स्वदेशमै उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता ल्याब सहयोगी हुने उल्लेख गरे।
राजधानी र विदेश पठाउनुपर्ने जटिल र संवेदनशील रक्त परीक्षण स्थानीय स्तरमै हुँदा समय र अर्थको बचत हुने र उपचार छिटो र प्रभावकारी हुने उल्लेख गर्दै उनले सामाजिक उत्तरदायित्व वहन गर्दै गरिव र उपचारमा पहुँच नपुगेकालाई सहयोग गर्न आग्रह गरे।
युआरएलका डाइरेक्टर सुशील थापाले मानव शरीरलाई इन्जिनसँग तुलना गर्दै समय–समयमा परीक्षण, सचेतना र उचित उपचार आवश्यक पर्ने बताए। नेपालको प्रयोगशाला क्षेत्रमा प्रगति भइरहेको भन्दै उनले युआरएलले प्रदेश नं ४ लाई प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गरे।
एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले स्तरीय ल्याब र सुविधा सम्पन्न अस्पतालको अभाव भोगिरहेका तनहुँवासीलाई यो कदमले सहयोग पुग्ने बताए।
एमाले तनहुँका उपसचिव विष्णुभक्त सिग्देलले आधुनिक युगमा थपिएका स्वास्थ्य चुनौती सामना गर्दै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन अन्तर्राष्ट्रिय स्तरका ल्याब, प्रयोगशाला र यसबारे सचेतना जरुरी रहेको विचार राखे।
युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले हालसम्म ५२ हजार बढीलाई सेवा दिइसकेको जानकारी दिँदै सामाजिक उत्तरदायित्व र व्यवसायिक मान्यतालाई सन्तुलन मिलाएर युआरएलअघि बढ्ने जानकारी दिए।
कार्यक्रममा नेपाली कांग्रेस व्यास नगर सभापति शान्तिरमण वाग्ले, माओवादी केन्द्रका प्रतिनिधि विरु थापा, रत्नहरि अस्पतालका अध्यक्ष ताराप्रसाद श्रेष्ठ, दमौली अस्पताल विकास समितिका अध्यक्ष हरिराज कँडेल, औषधी व्यवसायी संघ तनहुँका महासचिव दामोदर भण्डारीलगायतले बोलेका थिए।
कार्यक्रम युआरएलका कार्यवाहक अध्यक्ष दिनेशबाबु खड्काको अध्यक्षतामा भएको थियो। युआरएलले यसअघि बागलुङमा स्याम्पल कलेक्सन सेन्टर स्थापना गरिसकेको छ।
ल्याब शुभारम्भको अवसरमा बिहीबारै आयोजित आयोजित निःशुल्क मधुमेह तथा मृगौलासम्बन्धी रक्त परीक्षणमा तीन सय सात जनाको परीक्षण गरिएको छ।

IMG_0676 IMG_0681 IMG_0722 IMG_0727 IMG_0740 IMG_0767 IMG_0771 IMG_0777 IMG_0789 IMG_0793 IMG_0852 IMG_0856