डिआर क्षयरोग : अझै ठूलो चुनौती

                                                           –डा. मुकुन्दप्रसाद आचार्य
‘डाक्टर साहेब, मेरो रोग कहिले निको होला ? अझै कति समय औषधी  खानुपर्ने हो–एक २५ वर्षे महिला क्षेत्रीय क्षयरोग केन्द्र पोखराको ओपिडीमा मसँग सोध्दै थिइन्। पहिलो चरणको औषधीले निको नगर्ने खालको क्षयरोगले उनलाई ग्रस्त पारेकाले उनी हाल दोस्रो चरणका औषधी सेवन गर्दै छिन्। के हो त यो भनेको ?
हामी धेरैजसोले बुझिसकेका छौं कि दुई हप्ताभन्दा बढी खोकी लागेमा, छाती दुखेमा, ज्वरो आएमा, खकारमा रगत देखा परेमा, खाना खान मन नलागेमा र दुब्लाउँदै गई कमजोर महसुस भएमा फोक्सोको क्षयरोग लाग्यो कि भनेर सोच्नु पर्दछ।  नजिकैको स्वास्थ्य संस्थामा गई दुई पटक खकार परीक्षण गराउनुपर्दछ। खकार वा एक्सरेबाट फोक्साका टिबी भएको प्रमाणित भएमा डाक्टरको सुझाव अनुसार प्रारम्भिक चरणको औषधी नियमित रुपले छ महिनासम्म सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुन्छ। क्षयरोगले शरीरका कुनै पनि अंगमा आक्रमण गर्न सक्दछ तर पनि प्रायः धेरैजसो मानिस फोक्साकै क्षयरोगबाट ग्रसित हुने गरेका छन्। यो रोग सजिलै हावाबाट सर्ने हुनाले फोक्सोकै क्षयरोग बढी चुनौतीपूर्ण छ।
कमसेकम छ महिनासम्म प्रत्यक्ष निगरानीमा औषधी सेवन गर्नुपर्नेमा बिचैमा छोड्दा,  अनियमित हुँदा र औषधीको मात्रा तथा गुणस्तर कम भएमा टिबीका किटाणुले शरीरभित्र रुप बदल्छन् र प्रथम चरणको औषधीले नछुने कडा खालको टिबीमा परिणत हुन जान्छ। कहिलेकाँही सुरुमै कडा खालको क्षयरोग देखा पर्न पनि सक्दछ। यी कडा खालका क्षयरोग न्भलभ हउभचत वा अगतिगचभ जाँच गरेमा पत्ता लाग्छन् र यस्तो भएमा दोस्रो वा तेस्रो चरणको औषधी सुरु गर्नुपर्ने हुन्छ। तर यी खालका औषधी धेरै प्रकारका हुन्छन् र पहिलो चरणका भन्दा लामो समय(२०, ३० महिनासम्म) स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमै सेवन गर्नुपर्ने हुन्छ। पहिलो आठदेखि १२ महिनासम्म  त दिनदिनै सुई लगाउनुपर्ने हुन्छ। पहिलो चरणको उपचारबाट ९० प्रतिशत विरामी निको हुन्छन् भने दोस्रो वा तेस्रो चरणको उपचारबाट ५०—७० प्रतिशत बिरामीमात्र निको हुन्छन्। त्यसैले कडा खालको रोगका बारेमा हामी डाक्टर, स्वास्थ्यकर्मी र विरामी पनि रामै्रसँग जानकार हुनु आवश्यक छ।
फोक्सोका क्षयरोगीले अरु मानिससँग बसेर कुराकानी गर्दा, खोक्दा, हाच्छ्युँ गर्दा, हाँस्दा सयौ र लाखौं  परिमाणमा टिबीका किटाणु हावामा फैलिरहेका हुन्छन् र नजिकैका मानिसले श्वासप्रश्वास लिँदा किटाणुहरू फोक्सोमा पुग्छन्। यसरी विश्वको कुल जनसंख्याको एक तिहाइ मानिस क्षयरोगबाट सङ्क्रमित छन् तर सबैलाई रोग देखा पर्दछ भन्नेचाँहि छैन। सङ्क्रमित भएकामध्ये धेरैजसो स्वस्थ नै  रहन्छन्। १० प्रतिशतमा रोग देखा पर्दछ र ३० प्रतिशतमा टिबीका किटाणु शरीरभित्र फोक्सोमा सुषुप्त अवस्थामा लुकेर बसेका हुन्छन् र पछि वृद्धावस्थामा वा विभिन्न कारणवश (एचआइभी, दम, क्यान्सर, मुटु, मृगौला र कलेजोका रोग) प्रतिरोधात्मक शक्ति कमजोर हुन गएमा टिबीका किटाणु फेरि सक्रिय हुन्छन् र रोग लाग्दछ। सजिलैसँग हुने क्षयरोगको निदान र उपचार हरेक स्वास्थ्य संस्थामा  निःशुल्क उपलब्ध छ। तर दुस्खको कुरा, धेरैलाई यसबारे थाहा भएर पनि वर्षेनि चार हजार पाँच सय जति बिरामी नेपालमा थपिन्छन् र पाँच हजार जति मनिसको यसका कारणले मृत्यु हुन्छ। विश्वको रेकर्ड हेर्ने हो भने क्षयरोगका कारणले हरेक एक मिनटमा तीन जनाको मृत्यु भइरहेको छ।
यसरी मुख्यत ः गरिव देशमा क्षयरोगको स्थिति अझै भयाभय छ। परापूर्वकालदेखि नै यो रोगले मानवमा प्रवेश गरेको थियो र पहिले त सात जनामा एक मरिहाल्दथे। सन् १८८२ मा आजकै दिन रोबर्ट कचले टिबीका किटाणु पत्ता लगाएको पनि झण्डै ६० वर्षपछि मात्र बल्ल टिबीका औषधीहरू प्रयोगमा आउन थाले। पहिलेकोभन्दा मृत्युदर घट्दै गएको  भए पनि बढ्दै गएको जनघनत्व, मधुमेहको महामारी  र एचआइभीको प्रकोपले क्षयरोग अझै पनि हावी  भइरहेको देखिन्छ। क्षयरोग  कसलाई पो हुदैन र ? को सम्पन्न, को विपन्न, को धनी, को गरीव, क्षयरोगले कसैलाई पनि छुट्याउँदैन र संसारका विशिष्ट  व्यक्तित्व पनि यस रोगवाट पीडित थिए र अझै पनि हुन सक्छन्। उपचारले गर्दा धेरै  निको भए, कति त यसकै कारण मरे।
सन् १९९३ बाट विश्व स्वास्थ्य संघले क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्या हो भनी संसारका सबै देशलाई यसको रोकथाम र उपचारका लागि आवश्यक कदम चाल्न निर्देशन दिएको छ। नेपालमा पनि सन् १९९६ बाट प्रत्यक्ष निगरानीमा यसका विरामीलाई  औषधी खुवाउन थालेपछि हाम्रोमा यो रोग निको हुने दर ९० प्रतिशत पुगेको छ। समाजमा लुकेका  क्षयरोगीलाई पनि समेटी सबै रोगीलाई राम्रो उपचार दिन सक्यांै भने राष्ट्रले सन् २०५० सम्ममा परिकल्पना गरेको क्षयरोग मुक्त नेपाल  बनाउन हामी सक्षम हुनेछांै।
अब शंकास्पद विरामी लुकेर बस्न पर्दैन, निर्धक्क आफ्नो स्वास्थ्य परीक्षण गराउने  र रोग भए नियमानुसार औषधी सेवन गर्नुपर्छ। माथि उल्लेख भएझैँ प्रथम चरणका औषधी कमसेकम  छ महिनासम्म  र कडा खालका टिबीमा मा ३० महिनासम्म पनि औषधी सेवन गर्नुपर्ने हुनाले उपचारमा संलग्न  डाक्टर, स्वास्थ्यकर्मीलगायत, बिरामी र घरका आफन्त जन सबैले यो रोग एकको मात्र होइन, समाजकै रोग हो भन्ने मनन् गरी जिम्मेवार हुन  र धैर्यशील बन्न अति आवश्यक छ। क्षयरोगीले पनि  निराश नभइ औषधीको साथमा सन्तुलित प्रोटीन युक्त आहार लिनुपर्दछ र धुम्रपान, मध्यपान, लागुपदार्थ प्रयोग गर्नु हुँदैन। जथाभावी नथुक्न र मुखमा लगाउने मास्क प्रयोग गर्न सबैलाई प्रेरित गर्नुपर्छ। यसरी क्षयरोगबारे धेरै कुराको ज्ञान भएपछि यस वर्षको “विश्व क्षयरोग दिवस” को नारा “क्षयरोग अन्त्यका लागि सबै संगठित होऔं ” व्यवहारिक रुपमै सार्थक हुनेछ।
(लेखक क्षेत्रीय क्षयरोग केन्द्र पोखराका निर्देशक हुन्।)
source : eadarsha.com