किन चढ्छ शरिरमा देवी ?

-डा सि पी सेडाई, नशा तथा मनोरोग बिशेषज्ञ , चितवन मेडिकल कलेज

२५ वर्षीया सीताको विवाह भएको १ वर्ष भयो । ६ महिनाअघि साउदी अरबमा काम गर्न गएका श्रीमानसंग चिठी आदानप्रदान भइरहन्छ । घरमा नन्द, देवर, सासू, ससुरासँगै बस्छिन् । घरमा रहँदा कति कुराको जवाफ सासु, ससुरालाई फर्काउन उनलाई गाह्रो छ । एकमहिना अघि घरमै रहेका बेला उनमा अचानक नौलो समस्या देखियो । एक्कासी काम्न थालिन् र भन्न थालिन्, ‘हेर.. हेर… म देवी हुँ, तँलाई मार्छु, तँलाई खान्छु तेरो सन्तानलाई नाश गर्छु’ ।

तर, एक घण्टापछि उनी जस्ताको तस्तै भइन् । कति मानिसले उनलाई बोक्सी भने, कसैले देवीको रुप । देवताको पूजा गरी बलि दिए निको हुन्छ पनि भनियो । त्यो दिन समस्या त्यत्तिकै निको भएकाले केही वास्ता गरिएन । तर, दिनहुँ समस्या दोहोरिइरह्यो । अहिलेसम्म पनि उनको समस्या दिनदिनै देखापर्छ । धामी, झाँक्री लगाउँदा पनि निको भएन । अहिले उनी अस्पतालमा उपचार गराइरहेकी छन् । उनको मनमा दबिएको कुरा निकाल्ने र औषधीको प्रयोग गर्नाले उनको रोग निको भएको छ । यस्तो रोगलाई ‘कन्र्भसन डिसोसियटिभ डिसअर्डर’ भनिन्छ । कहिलेकाँही डिप्रेसनमा पनि यस्तो समस्या देखिन्छ ।

यो एक ‘अनौठो’ रोग हो । पहिले पहिले यो रोग महिलामा मात्र हुन्छ भन्ने धारणा थियो र पाठेघरको कुनै रोग होला भन्ने सोची यसलाई हिस्टेरिया भनिन्थ्यो, तर हाल यो रोग पुरुषमा पनि पाइने भएकाले यसलाई ‘कन्र्भसन डिसोसियटिभ डिसअर्डर’ भनिन्छ । प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार हाम्रो मस्तिष्कमा मुख्यतय २ भाग हुन्छन् । एउटा होसी (कन्सस) र अर्को बेहोसी (अन्कन्सस) भाग ।  हाम्रा पीडा बेहोसी भागमा बसेका हुन्छन् । पीडा बढेमा यो रोग देखिन्छ । तर आजकल डिप्रेसनजस्ता विभिन्न खालका मानिसक रोगका बिरामी पनि यस्तो लक्षण लिइ आउँछन् । जुन अचम्मको हुन्छ ।

 

बिरामीहरु कस्ता लक्षण लिएर आउँछन् :

–    हात वा खुट्टा प्यारालाइसिस हुने ।
–    छोएको थाहा नहुने ।
–    छारे रोगजस्तै ढल्ने, काम्ने ।
–    एउटा मानिस अर्को भएर बोल्ने वा बक्ने, जस्तै म फलानो हुँ, यसलाई मार्छु, खान्छु आदि ।
–    कुनै घटना पूर्ण रुपमा बिर्सनु । बिरामीले कुनै पीडादायी वा अन्य घटना पूरै बिर्सन्छन् ।
–    कहिलेकाँही बिरामी अचानक एक ठाउँबाट अर्को ठाउँमा बेहोसी रुपमा नै पुग्छ र ऊ त्यहाँ अर्कै मानिस भएर बसेको हुन्छ र पहिलेको कुरा सबै बिर्सन्छ । यसलाई ‘डिस्सोसियाटिभ फग’ भनिन्छ ।
–    एउटै मानिस दुई खालको व्यक्तिको सिकायत गर्छ, जसलाई मल्टिपल पर्सनालिटी डिस्अर्डर भनिन्छ ।
–    बिरामीलाई अति साधारण कुरा सोध्दा पनि उल्टो उत्तर दिन्छ  । जस्तै २ र २ जोड्दा कति हुन्छ भनेर सोध्दा ५ भन्छ, आकाशको रंग कस्तो हुन्छ भन्दा हरियो भन्छ आदि । तर उसको उत्तर दिने तरिका चलाख देखिन्छ, यसलाई ग्यान्सर्स सिन्ड्रोम भनिन्छ ।

कुन उमेरमा यो रोग बढी हुन्छ ?

यो रोग मुख्यतय ३५ देखि ४० वर्षभन्दा अगाडि नै देखा पर्छ, यो रोग १५ देखि २० वर्षका केटीहरुमा बढी पाइन्छ ।

किन ‘कन्र्भसन डिसोसियटिभ डिसअर्डर’ भनिन्छ ?

मानिसको बेहोसी मस्तिष्कमा रहेको स्ट्रेस एउटा लक्षण (शारीरिक रोगको)  मा परिणत हुने हुनाले कन्भभर्सन डिस्अर्डर भनिन्छ । त्यस्तै स्ट्रेस डिसोसियसन हुने हुनाले यसलाई डिस्सोसियाटिभ डिस्अर्डर भनिन्छ किनभने यो रोग लागेका बिरामी रोगदेखि कुनै चिन्ता गर्दैनन् र खुशी नै देखिन्छन् ।

कस्तो अवस्थामा यो रोग बढ्छ ?

जब मानिस यो रोगबारे बढी ध्यान दिन्छन् तब यो रोग बढ्छ कतिपय बिरामी छारे रोगका लक्षण देखाई आउँछन् जुन मानिसको उपस्थितिमा मात्र हुन्छ ।

source : swasthyakhabar.com